भदौ ३, २०८२ मङ्गलवार । रुप्से न्यूज
म्याग्दी– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ नम्बर वडा दानामा सोमबार स्थलगत रुपमा बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना क्षेत्रमा सञ्चालित विभिन्न पसल, होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गरिएको हो ।

जिल्ला प्रशासनको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको समन्वयमा अन्नपूर्णको दानामा सञ्चालित बजारको अनुगमन गरिएको थियो । दैनिक उपभोग्य सामानहरुमा उपभोगको वर्तमान अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको जनाइएको छ ।

अनुगमनको क्रममा दानामा सञ्चालित विभिन्न ७ वटा होटल तथा रेष्टुरेण्ट र ९ वटा खाद्यान्न, किराना एवं खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनको क्रममा भेटिएका तथा म्याद सकिएका सामानहरु जफत गर्नुका साथै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सो क्रममा केही होटल तथा रेष्टुरेण्टमा सरसफाइको कमी देखिएको, फ्रिज तथा डि–फ्रिजमा लामो समयसम्म उपभोग्य सामानहरु राखेको जस्ता कमीकमजोरीहरु पाइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बताउनुभयो ।

यसैगरी अनुगमनमा एउटा नामको पसल दर्ता गरेर अन्य प्रकृतिका सामानहरु बिक्री वितरण गरेको, होटलका किचनमा सरसफाइको कमी, पसलमा मूल्यसूची नटाँसेको, बिक्री गर्ने मालसामानमा लेबल नटाँसिकनै सामानहरु बिक्री वितरण गरेको, प्याकिङ गरेर सामान बिक्री गरेको र होर्डिङ बोर्ड तथा साइनबोर्डहरु नराखेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । पसल सञ्चालक तथा प्रोप्राइटरलाई अनुगमनको क्रममा भेटिएका सबै कमजोरीहरु तत्काल सुधार गर्न समेत निर्देशन दिइएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । विगतका समयमा भएको बजार अनुगमनको कारणले यसपालि भने केही सुधारका सङ्केतहरु देखिएको भए पनि अझ थप सुधार गर्नुपर्ने आवश्यकता रहेको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनमा म्याद सकिएका दैनिक उपभोग्य सामानहरु चिसो पेयपदार्थ, मिठाई, बत्ती बाल्ने तेल, भुजा, कुरकुरे, आटालगायत खाद्यान्न सामग्रीहरु जफत गरेर नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कार्यालय प्रमुख अमृतप्रसाद कँडेलले जानकारी दिनुभयो । दानाको बजार अनुगमनमा कुल आठहजार सातसय रुपैयाँ मूल्य बराबरको म्याद सकिएका दैनिक उपभोग्य तथा खाद्यान्न सामग्रीहरु जफत गरेर नष्ट गरिएको उहाँको भनाइ छ । पटकपटक बजार अनुगमन गरेर सुझाव दिँदा कार्यान्वयन नगर्नेहरुलाई कारवाहीको चेतावनी समेत दिइएको छ ।

बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी आचार्य, पर्यटन तथा उद्योग कार्यालय प्रमुख कँडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका कार्यालय प्रमुख प्रेम अर्याल र स्थानीय प्रहरी लगायत सहभागी थिए । जिल्ला प्रशासन कार्यालयले आउँदा दिनमा रघुगंगा, मालिका, मंगला, धवलागिरिसहित अन्य ठाउँमा पनि बजार अनुगमन गर्ने जनाएको छ ।

पसलहरुको समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउनुका साथै उपभोक्तालाई पनि सचेत बनाउनुपर्ने देखिन्छ । यसका साथै स्थानीय तहले पसलहरुको विभिन्न समयमा अनुगमन गरी व्यावसायिक तथा उपभोक्ता हकहितका लागि सचेतना फैलाउनुपर्दछ ।



