• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा नेकपा एमाले म्याग्दीले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएको छ । यसैक्रममा शुक्रवार बेनी नगरपालिका ६ नम्बर वडाको विभिन्न टोल र वस्तीमा पुगेर मतदाताहरुसमक्ष भोट मागिएको हो ।

वडा भित्रका वस्तीका खानेपानी, सडकसहित विभिन्न समस्याहरुको समाधान गर्नका लागि एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफूलाई मतदान गरेर विजयी बनाउन मतदातालाई अनुरोध गर्नुभएको छ । देश बनाउने स्पष्ट भिजन र नीति नेकपा एमालेसँग मात्रै भएको बताउँदै उहाँले एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउनुको विकल्प नभएकोमा जोड दिनुभयो ।

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार एमाले नेता श्रेष्ठले आफू तत्कालीन समयमा अर्थुङ्गे गाविसको अध्यक्ष हुँदा सडक, खानेपानी, भवनसहित समुदायमा आधारित विभिन्न योजनामा सीमित स्रोतका बाबजुत पनि काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले जिम्मेवारी पाएको अवस्थामा काम गरेको छु, अब तपार्इँहरुको सहयोगमा प्रतिनिधि सभामा पुगेर कानुन निर्माणसँगै थप समस्या समाधानका लागि पर्याप्त बजेट ल्याउनेछु ।’

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका उम्मेदवार श्रेष्ठले एमालेको नेतृत्वमा बनेको सरकारले ‘समृद्ध म्याग्दी, सुखी म्याग्देलीको अभियानसहित म्याग्दी जिल्लामा अपुरो र अधुरा रहेका कामहरुलाई पूरा गर्ने र म्याग्देली जनताहरुले सम्झनलायक काम गरेर देखाउने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले म्याग्दीको अवस्थामा निर्वाचनमा उठेका उम्मेदवार तथा पार्टीले जिल्लाको विकास निर्माण र स्थानीयको हकहितका साथै परिवर्तन एवं रुपान्तरण गर्ने गरी कुन दलले कति काम गरे त्यसलाई अनुमान गरेर २१ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

चुनावी अभियानमा एमाले केन्द्रीय सदस्य एवं समानुपातिकतर्फका उम्मेदवार नरदेवी पुन, पूर्व केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी सदस्य देवेन्द्रबहादुर केसी, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । बेनीको वडानम्बर ६ को खरेनी, राहुवडा, फोहोटे, जामुनाखर्क, नेपाने, एक्लेपिपल, एकपाटे, बाँसबोट, अर्थुङ्गे, थाकनपोखरी, डाँडाबारी, छाप, माझखेत, चुत्रेनी, डम्बरा, १ नम्बर वडाको अर्जम र सारेमारेमा घरदैलो तथा टोलभेला गरिएको थियो ।